Home / Local News / मुटु दिवसमा टुर दि पोखरा साइकल यात्रा

मुटु दिवसमा टुर दि पोखरा साइकल यात्रा

2011_0929_heart_day

पोखरा, १२ असोज। विश्व मुटु दिवसको अवसरमा पोखरामा म·लबार टुर दि पोखरा साइकल यात्रा गरिएको छ।

पोखराको सभागृहबाट सुरु भएको यात्रा २८ किलोमिटर दूरी पार गरी पुनः सभागृहमा नै आइ सकिएको थियो। मुटुलाई स्वच्छ राख्ने तथा पोखरालाई साइकलमैत्री सहर बनाउने उद्देश्यले सो यात्रा आयोजना गरिएको हो।

साइकल र्‍यालीमा उद्योगी, व्यवसायी, सुरक्षाकर्मी, विद्यार्थी गरी पाँच सय जनाले सहभागिता जनाएका थिए। यात्राका सहभागीलाई पोखराका विभिन्न स्थानमा स्थानीय बासिन्दा र आमा समूहले स्वागत गरेका थिए।

‘स्वस्थ मुटु, सबैका लागि, जहिले पनि जहाँ पनि’ भन्ने नाराका साथ साइकल सिटी पोखरा र जयन्ति स्मृति प्रतिष्ठानले संयुक्तरूपमा आयोजना गरेको हो। फ्रान्समा ११२ वर्षअघि सुरु भएको टुर दि फ्रान्सलाई झल्को दिने गरी पोखरामा पहिलो पटक साइकल यात्रा गरिएको आयोजकको भनाइ छ।

 साइकल सिटी पोखराका अध्यक्ष कार्यक्रम संयोजक निरज थापाले साइकल यात्रालाई आगामी दिनमा पनि जारी राखिने उल्लेख गरे। यात्राको उद्घाटन आठ वर्षीया बालिका आचल कोइरालाले गरेकी थिइन्।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष आनन्दराज मुल्मीले मुटु स्वच्छ भए शरीर राम्रो हुने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने विचार राखे। उनले साइकलमैत्री सडकको आवश्यकता औल्याउँदै साइकलको आयातमा भन्सार छुट दिनुपर्नेमा जोड दिए।

 कार्यक्रममा जयन्ती स्मृति प्रतिष्ठानका मेनेजर आज्ञा खाँण र साइकल सिटी पोखराका सदस्य इश्वर कर्माचार्यले पनि बोलेका थिए।

About Saw Been